शक्तिशाली भूकम्पका कारण जापानमा चार जनाको ज्यान गयो, ९७ जना घाइते

टोकियो – उत्तरपूर्वी जापानमा बुधबार अबेर राति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् र उच्च गतिको बुलेट ट्रेन पटरीबाट खसेको छ।

प्रधानमन्त्री फुमियो किशिदाले संसदमा भूकम्पमा परी चार जनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी गराएका छन् ।

जापानी संचारमाध्यमका अनुसार भूकम्पमा परि मियागी, फुकुशिमा, कानागावा, इबाराकी, इवाते, अकिता र यामागाटा प्रिफेक्चरहरूमा धेरै घाइते भएका छन् । भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि मियागी प्रान्तको टोम सिटिजन अस्पतालमा लगिएको र अधिकांशको हात खुट्टामा चोट लागेको जनाइएको छ ।

फुकुसिमाको फुकुशिमा स्टेसन र मियागीको शिरोइशिजाओ स्टेसनको बीचमा करिब १०० यात्रु बोकेको तोहोकु शिन्कानसेन बुलेट ट्रेन पटरीबाट खसेको छ । तर कसैलाई पनि कुनै पनि चोटपटक नलागेको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

मौसम विज्ञान विभागले भूकम्पपछि मियागी र फुकुशिमा प्रान्तको प्यासिफिक तटमा १ मिटर सुनामी आउँन सक्ने चेतावनी जारी गरे पनि अपेक्षाकृत सानो सुनामी छालहरू मात्र देखिएको जनाएको छ ।

यसअघि मियागी प्रिफेक्चरको इशिनोमाकी बन्दरगाहमा ३० सेन्टिमिटरसम्मको सुनामी छालहरू नापिएको मौसम विभागले जनाएको छ।

फुकुसिमाको पानीमा करिब ५७ किलोमिटर गहिराईमा गएको ७.४ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी, मध्य र पश्चिमी जापानलगायत देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो ।

अधिकारीहरूले फुकुशिमा, मियागी र यामागाटा प्रान्तमा अर्को हप्ता सोभन्दा बढी परकम्पहरू आउन सक्ने चेतावनी दिएका छन्।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार ०९:०१