उद्धव लुइटेल /टोकियो, जापान
कोभिड १९ नामकरण गरिएको कोरोना भाइरस संक्रमणले विश्वका अधिकांश मुलुकहरू आकुलव्याकुल छन । संसारको आर्थिक क्रियाकलाप निरन्तर ओरालो लागिरहेको छ भने कतिपय देशको आर्थिक गतिविधि ठप्प प्राय: छ । कोरोना संक्रमण चीनको बुआन सहरबाट सुरू भएर संसारका प्राय:जसो सबै मुलुकहरूमा फैलिसकेको छ । चीन सरकारको कठोर निर्णय क्षमता र कुशल कार्यान्वयनको फलस्वरूप कोरोना संक्रमण नियन्त्रणमा आए पनि विशेष गरेर युरोपका इटाली र स्पेनमा यसको संक्रमण अकल्पनीय रूपमा बढिरहेको छ । अमेरिकाको न्युयोर्क सहर कोरोना संक्रमणबाट नराम्ररी थलिएको छ । मध्यपूर्वलगायत एसियाली र अफ्रिकाली मुलुकहरू तथा पूर्वी एसियाका मुलुकहरू पनि कोरोनाको चपेटामा फस्दै गइरहेका छन । अस्ट्रेलिया पनि यसबाट अछुतो छैन ।
कोरोना प्रकोप कुनै एउटा देशको मात्र समस्यामा सीमित छैन । यतिबेला यसले विश्वकै निम्ति साझा चुनौति खडा गरिरहेको छ । मानवको अस्तित्व माथि नै संकट उत्पन्न गराउने सामर्थ्य बोकेको कोरोना भाइरसको संक्रमण रोक्न विश्वकै साझा धारणा र योजना आवश्यक छ । कुनै एउटा देश वा महादेशले जुनसुकै कदम चालें पनि यो रोकिने अवस्थामा छैन । निम्न आयआर्जन भएकाहरूका निम्ति कोरोना संक्रमण विकराल समस्या बनेर उभिएको छ भने ठूला लगानीकर्ताहरू लगानी गुम्ने चिन्ताले दिनरात त्रसित बन्दै गइरहेका छन ।
कोरोना भाइरसका कारण विश्वभर लगभग तेह्र लाख अठ्ठाइस हजार मानिसहरू संक्रमित छन । यो दैनिकजसो बढिरहेको छ । त्रिहत्तर हजार आठ सयभन्दा धेरै मानिसहरूले यसकै कारण जीवन गुमाएका छन । दुई लाख सतहत्तर हजारभन्दा बढि मानिसहरू स्वस्थ भएर घर फर्किएका छन । विकसित मुलुकहरूले यसको नियन्त्रणका निम्ति अनेकौं उपायहरू अबलम्बन गरे पनि ती निकम्मा सावित हुँदै गएका छन । अल्पविकसित र अविकसित राष्ट्रहरूले यसको संक्रमण नियन्त्रणका निम्ति आशातीत योजनाहरू बनाउन चुकिरहेको सत्य हो । जसको फलस्वरूप कोरोना संक्रमण आगामी दिनहरूमा थप वृद्धि हुने सुनिश्चित छ ।
केही हप्ता अगाडिसम्म कोरोना संक्रमणका सवालमा चीनसँग अपशब्द खर्च गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला चीनसँग सहकार्य गर्ने अवस्थामा पुगेका छन । उनी यतिसम्म अनुदार थिए कि कोरोना भाइरसलाई चिनिया भाइरस भनेर सार्वजनिक रूपमै बोलेका थिए । यतिबेला अमेरिकामा कोरोना संक्रमितहरूको संख्या तीन लाख छपन्न हजार नाघिसकेको छ । यो चीनको संक्रमित संख्याभन्दा दुई लाख पचत्तर हजारले बढि हो । चीनमा तीन हजार तीन सयले जीवन गुमाइरहदा अमेरिकामा दस हजार चार सय पुगिसकेको छ ।
युरोपको संक्रमण दर पनि उच्च छ । स्पेनमा एक लाख पैंतीस हजार, इटालीमा एक लाख बत्तीस हजार, जर्मनीमा एक लाख एक हजार, फ्रान्समा अन्ठानब्बे हजार र बेलायतमा एकाउन्न हजार छ सय मानिसहरू कोरोनाबाट संक्रमित छन । अन्य युरोपेली मुलुकहरूमा कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेको छ । स्वीजरल्यान्ड, बेल्जियम, नर्वे र डेनमार्कमा पनि संक्रमितहरूको संख्या दैनिकजसो बढिरहेको छ । यसबाट संसारको सबैभन्दा विकसित महादेश युरोप पनि कोरोनाको महामारीबाट निसासिँदै गएको र यो साझा चुनौतीका रूपमा स्थापित भइसकेको देखिन्छ ।
युरोपेली मुलुकहरू र अमेरिकाले चीनबाट माक्स, भेन्टिलेटर र कोरोना परीक्षण तथा रोगथामका सामग्रीहरू खरीदलाई तीव्रता दिएका छन । यो प्रयास प्रशंसनीय भए पनि पर्याप्त देखिँदैन । विश्वशक्तिको केन्द्र अमेरिका कोरोनाको महामारीबाट आकुलव्याकुल छ । बीसौं शताब्दीका शक्तिशाली युरोपेली मुलुकहरू बेलायत, जर्मनी, इटाली र फ्रान्स कोरोनाको आतंकबाट भयभीत र निरीह छन । मृतक र संक्रमितहरूको संख्या अकल्पनीय रूपमा बढिरहदा अरबौंको औद्योगिक लगानी डुब्ने र देशको अर्थतन्त्र तहसनहस हुने चिन्ताले युरोप र अमेरिकाको निद्रा भंग भएको छ ।
विश्वका सर्वाधिक जनसंख्या भएका दुई एसियाली मुलुकहरू चीन र भारतमध्ये चीनले कोरोना संक्रमणको गतिलाई पूर्णविराम लगाएको छ । भारतमा एक्काइस दिनको लकडाउन आगामी अप्रिल चौध तारिखसम्म जारी गरिएको छ । यी दुई देशमा लगभग दुई अर्ब पचहत्तर करोड मानिसहरू बसोबास गर्दछन् । तुलनात्मक रूपमा चीनभन्दा भारतको बसोबास अव्यवस्थित छ । कोरोना संक्रमण जनघनत्व भएका ठूला सहरहरूमा अनियन्त्रित रूपमा फैलिए त्यसले गम्भीर संकट पैदा गर्ने सुनिश्चित छ । नेपालमा विशेष गरेर भारतका पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराखण्डमा कोरोना संक्रमण तीव्र रूपमा फैलिए त्यसले नेपालको पूर्वी, दक्षिणी र पश्चिमी सीमाना क्षेत्रमा कोरोना संक्रमणको गम्भीर असर पर्छ । यो नेपाल सरकारले अर्जुनदृष्टि राख्नुपर्ने विषय क्षेत्र हो ।
लापरवाही कोरोना संक्रमणको कारण
कोरोना संक्रमण कतिसम्म तीव्र हुन्छ भन्ने बारे युरोप र अमेरिका हाम्रै अगाडि नजीरका रूपमा उभिएका छन । चीनमा देखिएको कोरोना भाइरस युरोप र अमेरिका पुग्नेमा त्यहाँका कुनै पनि सरकार सचेत थिएनन । परिणाम उल्टो भयो र अहिले युरोप अमेरिका कोरोना संक्रमण तथा मृत्युको अंक तालिकामा शीर्ष स्थानमा उक्लिए । यसले त्यहाँको दैनिकी पूरै बदल्यो भने हजारौं मानिसहरू रोजगार विहीन भए । आर्थिक सम्पन्नतामा आकाश छोएका मुलुकहरूलाई कोरोनाले आकुलव्याकुल बनायो ।
नेपालमा हालसम्म नौजना व्यक्तिमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । सरकारले पटकपटक गरेर एक्काइस दिने लकडाउनलाई आगामी २०७७ वैशाख ३ गतेसम्म लागू गरेको छ । लकडाउनको अवधिमा केही मानिसहरू बहाना बनाएर निजी सवारीमा सहरबाट गाउँ गए । कतिपय मानिसहरू सुरक्षाकर्मीको अनुपस्थितिको फाइदा उठाएर सडकमा घुम्ने र ब्याडमिन्टन खेल्नेसम्मका कार्यहरूमा सामेल भए । यसले लकडाउनलाई सरकारले घोषणा गरेबमोजिम पूर्ण रूपमा परिपालना गरेको देखिँदैन । यस किसिमको लापरबाही कोरोना संक्रमण वृद्धिको महत्त्वपूर्ण कारण पनि हो । बाहिर गएर घर वा डेरामा फर्केपछि साबुनपानीले राम्रोसँग हात धुने नियम कतिले परिपालना गरे यकिनका साथ भन्न सकिँदैन । शिक्षा र चेतना कमजोर भएका क्षेत्रहरूमा कोरोना संक्रमण रोकथामका निम्ति जनस्तरबाट स्वास्थ्य सुरक्षाका नियमहरू अक्षरश: परिपालना हुनेमा आशंका गर्ने आधारहरू थुप्रै छन ।
जनस्तरबाट हुने लापरबाहीले लकडाउनको उद्देश्यलाई टेवा पुर्याउँदैन । बरू उल्टै भयावह परिस्थितिलाई निमन्त्रणा गर्दछ । यो गम्भीर चुनौतीको विषय हो । यसको नियन्त्रण सरकारको दायित्वभित्रै पर्दछ । लकडाउन खुलेपछि आउनसक्ने चुनौतीलाई सम्बन्धित निकायले नजरअन्दाज गर्न मिल्दैन । कोरोनासँग योजना र शब्दले मात्र जुध्न सकिँदैन । पर्याप्त उपकरण र रोकथाम सामग्रीहरूको ख़रीद र तिनको समानुपातिक वितरण महत्त्वपूर्ण कुरा हो । यसमा सरकार विवादित बन्नु दुर्भाग्यपूर्ण विषय हो । निजी अस्पतालहरू उपचारबाट पन्छिएको विषयलाई सामान्य ठान्नु गम्भीर भूल हो ।
करिब तीन करोड जनसंख्या भएको नेपालमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित अवस्थामा जान दिनै हुँदैन । नेपाल सरकार र सम्बन्धित अधिकारीहरूले विकसित मुलुकहरूको संकट देखेर पाठ सिकेको हुनुपर्छ । आम नागरिकहरू यसबारेमा सचेत भएको खण्डमा कोरोना चुनौतीलाई पन्छाउन सकिन्छ । लकडाउन नेपाल सरकारको दूरदर्शी निर्णय थियो । यसको परिपालनामा आमनागरिकहरू निष्ठावान् भएर लाग्नुको विकल्प छैन । जापान सम्पर्क – ०७०-१४०६-२२३३
प्रकाशित | २५ चैत्र २०७६, मंगलवार ११:२८