संस्था बिभाजनमा सांक्षी बस्न सकिन्न: राजन त्रिपाठी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले संस्था बिभाजित अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहने बताउनु भएको छ ।

कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहनु भएको त्रिपाठीले संस्था विभाजन हुने अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहेकाले उमेदवारी नदिएको जानकारी गराउँदै फुटको यो अवस्थामा आफू कुनै पनि पद र समुहमा नरहने बताउनु भयो ।

प्रवासमा रहेका सबै विचार, वर्ग र समुदायको प्रतिनिधित्व गर्ने एक मात्र साझा संस्था ‘एनआरएन’ इगो र प्रतिशोधको भावले बिभाजित अबस्थामा आइपुग्नु दुखद पक्ष भएको उहाँले बताउनु भयो ।आवेगमा निर्णय गर्दा क्षणिक आत्मसन्तुष्टि मिले पनि संस्थालाई दिर्घकालीन क्षति पुग्ने उहाँको भनाई छ ।

‘हाम्रो प्रिय संस्था “एनआरएन” लाई फुटबाट जोगाई एकाताबद्द राख्न, पद र व्यक्तिगत आकाँक्षा भन्दा माथी उठेर संस्थापक, अग्रज तथा सम्पूर्ण जिम्मेवार नेतृत्वले भूमिका निभाउनेछ भन्ने अपेक्षा सहित सबै पक्षसंग हार्दिक अपिल समेत गर्दछु, उहाँले भन्नु भएको छ ।

उहाँले सहमति, सहकार्य र सहअस्तित्व आजको आवश्यकता रहेको पनि बताउनु भयो ।

‘प्रवासमा बस्दै गर्दा राजनैतिक, क्षेत्रिय र जातीय रुपमा संगठित हुने हाम्रा आआफ्ना संगठन छन्, यसर्थ गैरआवासीय नेपाली संघलाई सबैको साझा बनाउन ध्यान केन्द्रित गरौं । बिभाजन र टुटफुटले सँस्थाको कहिल्यै हित हुँदैन्’, उहाँले थप्दै भन्नु भयो ।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार २२:२०