घले पक्षद्धारा लामाको नेतृत्वमा महाधिवेशन आयोजक कमिटि गठन, निर्वाचन यही २२-२५ मार्चमा गर्ने घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघमा संस्थापन पक्षले प्रतिनिधि विवाद समाधान नगरि एक्लौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै डा. शेष घले पक्षधरले पनि छुट्टै निर्वाचन गर्ने तयारी गरेको छ । घले पक्षधरले दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना गरि तयारी गरेको हो ।

सस्थापन पक्षले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै उम्मेदवारी दर्ता गरिरहँदा घले पक्षधरले भने त्यसभन्दा अगाडि नै निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरिसकेको छ । संस्थापन पक्षले भने २१ र २२ मार्चमा निर्वार्चन गर्ने घोषणा गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।

स्रोतका अनुसार सात सदस्यीय निर्वाचन कमिटि समेत गठन भइसकेको छ । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर रिटायर्ड डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहनु भएको छ ।

प्रमुख संरक्षक शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गर्नु भएको छ ।

संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहनु भएको छ । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन्।

घले पक्षधरको निर्वाचनमा यसअघि बोलाइएको एनसिसी भेलामा सहभागि ४५ वटा भन्दा बढी एनसिसीहरुको सहभागिता रहने र उनीहरु सबै काठमाडौं आउने क्रम जारी रहेको जनाइएको छ ।

त्यस्तै, निर्वाचनको तयारीमा जुटेपछि डा. घलेले एनआरएनए सचिवालयमा निर्वाचन सम्बन्धी डेक्स्क राख्न अनुमति माग्दै कार्यकारी निर्देशक राजेश राणालाई पत्र समेत पठाइसक्नु भएको बुझीएको छ ।

निर्वाचनका लागि डा. घलेले छानबीन समितिबाट छनोट भई आएका २ हजार ६४३ जना प्रतिनिधिलाई मान्यता दिइने बताइएको छ । यसको वृस्तुत जानकारी डा. घलेले प्रेस विज्ञप्ति मार्फत गराउने स्रोतले जानकारी गरायो ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार १२:०५