विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ ।

पार्टीको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको हो ।

महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिनु भयो ।

महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नो भूमिका रहने बताउनुभयो ।

थापाले सकेसम्म आगामी साउन १ गतेबाट नै नेपाल बाहिर रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा टिपाउनका लागि छलफल शुरु गर्ने बताउनुभयो ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरूको भावनालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताउनुभयो । उहाँले विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐनलाई सच्याउने गरि संसदमा राजनीतिक दलहरूसँग समझदारी गरी पेश गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभएको थियो ।


प्रकाशित | ७ असार २०७९, मंगलवार २०:०६