वैदेशिक रोजगारीमा जाने श्रमीकलाई विमानस्थल प्रवेशमा घण्टौ लाइन बस्नु पर्ने बाध्यता हट्यो

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुख दिइएको गुनासो आएपछि श्रम डेस्क हटाइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गर्नुभएको हो । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा गइ श्रम डेस्क हटाइएको हो ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ ।

विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ । श्रम स्वीकृति सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टीकर परीक्षणका लागि घण्टौ लाइन बस्नु पर्ने बाध्यता हटेको छ ।

यसैगरी यस अघि वैदेशिक रोजगारीमा जान श्रमिकले ३ वटा मध्ये एउटा मात्र प्रस्थान द्वार प्रयोग गर्न पाउने विभेदपूर्ण नियम थियो । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यस अघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतिको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए ।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार ११:२२