रेडक्रसमा चरम राजनीतिकरण, विधानको ठाडो उल्लंघन गर्दै भक्तपुरमा कांग्रेसनिकटको छुट्टै भेला

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा चरम राजनीतिकरण हावी भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट रेडक्रसकर्मीको नेतृत्वले भक्तपुरमा छुट्टै भेला गर्दै राजनीतिकरण गर्ने प्रयास भएको हो । भक्तपुरमा आयोजित भेलालाई वागमती प्रदेश स्तरीय कार्याशाला नाम दिइएको छ ।

‘नेपाल रेडक्रसको वर्तमान अवस्था र नेपाली कांग्रेस पक्षीय नेरेसो केन्द्रीय तदर्थ समिति, जिल्ला शाखाका पदाधिकारी सदस्यहरुको भूमिका’ विषयक कार्याशालामा कांग्रेसमा आस्था राख्ने रेडक्रसकर्मीहरुको उपस्थिति थियो ।

पाँच एजेन्डा तय गरेर आयोजित कार्यशालामा गत साउन १२ मा सरकारले गठन गरेको तदर्थ समितिको कार्य समीक्षा, माघ मसान्तभित्र भ्याद समाप्त हुने नेपाल रेडकस सोसाइटीका जिल्ला शाखाहरु निर्वाचन,केन्द्रीय तदर्थ समिति तयार गरेको कार्य योजना, विधान संशोधन कार्यहरु र विधान अधिवेशन सम्बन्धमा कार्यादेश, वैधानिकता र कानूनी प्रश्नका बारेमा छलफल भएको थियो ।

भेलामा केन्द्रीय तदर्थ समितिमा रहेका कांग्रेस पक्षधर पदाधिकारी र सदस्यका साथै केही कांग्रेसका नेताहरुको पनि उपस्थिति रहेको पाइएको छ।

यसैबीच, सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले यस्ता गतिविधि नगर्न नगराउन सार्वजनिक आह्वान गर्दै विधानविपरीत कार्य गर्नेलाई सचेत गराउनुभएको छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १०:४८