पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ -मनसुनी न्यून चापीय रेखाले गराएको वर्षा नेपालको पश्चिम क्षेत्रमा केन्द्रित भएको छ । सोही कारण नेपालको पश्चिमी भेगमा बढी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्दो छ ।

“मङ्गलबारदेखि नै पश्चिममा भारी वर्षा भइरहेको छ, अझै एक÷दुई दिन यो जारी रहन्छ,” मौसमविद् विभूति पोखरेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार वर्षा मापन केन्द्रमध्ये पश्चिम भेगका केन्द्रमा बढी वर्षा भएको छ । पश्चिमको तीनवटा केन्द्रमा गत २४ घण्टामा सबैभन्दा बढी २५० मिलिमिटरभन्दा बढी पानी परेको छ । जसका कारण त्यस क्षेत्रका विभिन्न गाउँ र नगर डुबानमा परेका छन् ।

सुदूरपश्चिमको कालीकोटमा पहिरो गएको छ । बिहीबार पश्चिम भेग र तराईका भेगका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । शुक्रबार केही भेगमा भारी वर्षाको पूर्वानुमान छ । मनसुनी न्यून चापीय रेखा यतिबेला तराई भूभागनजिक रहेकाले मनसुन सक्रिय बनेको हो ।

सक्रिय मनसुनका कारण पश्चिमका मुख्य तथा सहायक नदीमा बहाव उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र दैनीकमा खवर छ ।


प्रकाशित | १५ श्रावण २०७७, बिहीबार ०७:५९