नेपालमा पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ सुरु

काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ’नेपाल ग्रीन हाइड्रोजन समीट (एनजीएचएस)’ सुरु भएको छ ।

No description available.

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना भएको हो । होटल सोल्टी काठमाण्डौमा सुरु भएको सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।

No description available.

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो समिटको उद्घाटन गर्नु भयो । ऊर्जामन्त्री भुसालले सरकारको जलविद्युतलाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो । उर्जामन्त्री भुसालले मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन समेत गरीसकेको बताउनुभयो ।

नेपालले प्रयोग गर्ने ऊर्जाका स्रोतका रुपमा जलविद्युतलाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने काम मन्त्रालयले गरिरहेको उहाँले बताउँनु भयो । हाइड्रोजन ऊर्जाको विकासको कार्य अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकण र कोरियोको ग्लोबल ग्रीन ग्रोथ इन्टिच्युटबीच समझदारी गरिएको उहाँको भनाई छ ।

No description available.

देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पु¥याइ विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “ नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण छ ।”

विश्वले हाइड्रोजन ऊर्जाको विषयमा प्राविधिक अध्ययन र प्रविधिको विकास गर्दै भविष्यमा हाइड्रोजनका रुपमा विद्युत निर्यात गर्न सकिने सम्भावना देखिएको उहाँको भनाई थियो । प्रविधिको विकासँगै आगामी दिनमा हामीले जलविद्युत आयोजनाहरुसँगै त्यही पानी प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने र हाइड्रोजनका रुपमा विद्युतलाई निर्यात गर्ने अवस्था सिर्जना हुने उहाँले बताउँनु भयो । तत्कालका लागि यस्तो प्रविधि आर्थिक रुपमा महङ्गो भए पनि भविष्यमा यसले प्रसारण लाइनको जटिलतालाई समेत समाधान गर्ने भएकाले नेपाल पनि तयार रहनुपर्ने उल्लेख गर्नुभयो ।

उर्जामन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरू सम्मिलित सम्मेलनले जलविद्युतलाई हरित हाइड्रोजन ऊर्जामा परिणत गर्न र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै अख्तियार गर्नुपर्ने कदमहरूबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ विश्वास लिएको बताउनुभयो । उहाँले सम्मेलनबाट प्राप्त हुने सुझावहरु आगामी दिनमा मन्त्रालयले अवलम्वन गर्ने नीति, निर्देशिका, कानूनलाई थप परिस्कृत गर्न उपयोगी हुने उहाँको भनाइ छ । सम्मेलन मंगलबारसम्म चल्नेछ ।

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजनसम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । कोरोनाकालमा संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उहाँले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने कुरामा जोड दिनु भयो ।

No description available.

सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

No description available.

एनआरएनए फाउण्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा भैरहेको कार्यक्रममा एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले,एमआईटी ग्रुप फाउण्डेसनकी सदस्य जमुना गुरुङ र कुँवर नेतृत्वको एनआरएनएकी महासचिव जानकी गुरुङ, सल्लाहकार एसि शेर्पालगायतको सहभागीता छ ।


प्रकाशित | २४ आश्विन २०७९, सोमबार १५:५८