अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास

एजेन्सी : कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ ।

लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् ।

विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजले १० दिनमा करिब १ लाख मानिसलाई घरघरमै गएर निःशुल्क परीक्षण गरिने योजना रहेको जानकारी दिएका छन् । यो योजनाको सहजीकरणका लागि करिब २०० जना सैन्य अधिकारीहरुले साथ दिनेछन् । करिब साढे २ करोड जनसंख्या भएको अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या लगभग ७ हजार ५ सय छ भने हालसम्म १०४ जनाको मृत्यु भएको छ ।


प्रकाशित | १५ असार २०७७, सोमबार १३:१२