रुस युक्रेनबीच तेश्रो चरणको शान्ति वार्ता सोमबार

काठमाडौं- रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।

तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिनुभएको हो। उहाँले फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिनुभएको हो ।

युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका हुन् ।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।

युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजेका बताइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको बताइएको छ । यसैले पनि रुस वार्ताका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ ।


प्रकाशित | २२ फाल्गुन २०७८, आईतवार ११:२७