एनआरएनए पूर्व अध्यक्षहरु घले र हिराचनद्धारा एनसीसीहरुको भेला आह्रवान

काठमाडौं – गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन र डा. शेष घलेले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको भेला आह्रवान गर्नु भएको छ । भेला भर्चुअल रुपमा आइतबार अर्थात मार्च ६ नेपाली समय साँझ ५ बजे बोलाइएको हो ।

पूर्व अध्यक्ष घले र हिराचनले संस्था गम्भिर मोडमा उभिएको र सो विषयमा छलफल गर्न भन्दै एनसिसीहरुको भेला आह्रवान गर्नु परेको बताउनु भएको छ ।

विज्ञप्तिमा ४० भन्दा धेरै देशका राष्ट्रिय समन्वय परिषद र करिव ७० हजार मतदाताले संस्थामा विधिसम्मत कार्य होस् भनी गरेको बारम्बारको अनुरोधप्रति संस्थाको नेतृत्व उदासीन मात्र नभई निरन्तर एकपछि अर्को विधान विपरितका काम भइरहेको, विधि, पद्धति र पारदर्शिताको माग गर्ने एनसीसीहरुमाथि उल्टै अवैधानिक कारवाही थालीएको उल्लेख गर्दै संस्थालाई दुर्घटनाबाट बचाउन सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एनआरएनए सदस्यता र मतदाता छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका ४० बढी देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेको निरन्तरको विरोध र गुनासोलाई वर्तमान नेतृत्वले बेवास्ता गरी विधान विपरित छानिएका प्रतिनिधिका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको पनि उल्लेख छ ।

संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै विवाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले निरन्तर कोसिस गर्दै आइरहेकामा हाल जारी विवाद समाधान गरी यथासक्य चाँडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको ‘विवाद समाधान उच्चस्तरीय समिति’ मार्फत काम गरी विवाद समाधानका उपायहरु पेश गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘हामीले विगत ६ महिना यता विभिन्न चरणमा अनेक कोसिस गरी विवाद समाधान गर्न र संस्थाको साख बचाउन प्रयास गर्दै आइरहेका हौं । तर, यो प्रयास निरन्तर खेर गइरहेको छ’, विज्ञप्तिमा भनीएको छ, ‘असन्तुष्टिका आवाजलाई सम्बोधन गरी समस्या समाधान गर्न संघको वर्तमान नेतृत्व पुरै उदासिन देखिएको छ । विवाद समाधानका लागि दिएका सुझाव पालना गर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन गर्ने आम गैर आवासीय नेपालीहरुको अपेक्षा विपरित संघको नेतृत्व संस्था कब्जा गर्ने अभियानमा केन्द्रीत देखिन्छ ।’


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार २०:४८