युक्रेन र रुसबीच दोस्रो चरणको वार्ता जारी

तस्विर : रोयटर्स

रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बैठक दक्षिणपश्चिमी बेलारुसको ब्रेस्टमा भइरहेको बताइएको छ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले ट्वीट गर्दै बेलारुसमा रूसी प्रतिनिधिहरूसँग वार्ता सुरु भएको जानकारी गराए ।

उनले तत्काल युद्धविरामको घोषणा र ध्वस्त वा लगातार गोलाबारी भएका गाउँहरू/शहरहरूबाट नागरिकहरूलाई बाहिर निकाल्नुपर्ने एजेन्डालाई मुख्य मुद्दा बनाइएको बताए ।

एउटा छोटो भिडियो क्लिपमा युक्रेनी प्रतिनिधिमण्डललाई रुसी प्रतिनिधिमण्डल बसेको सम्मेलन कोठामा प्रवेश गरेको देखाइएको छ। वार्ता सुरु गर्न बस्नुअघि दुवै टोलीले हात मिलाएका थिए।

गत सोमबार युक्रेन–बेलारुस सीमामा भएको पहिलो चरणको छलफल वार्ता जारी राख्न बाहेक कुनै सहमतिविना टुंगिएको थियो ।

पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । रूसी पक्षले भने तटस्थता र कहिल्यै नेटोमा सामेल नहुने ग्यारेन्टी खोजेको थियो ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार २१:४८