प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा  पेस

काठमाण्डौ – प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले आज आइतवार बसेको बैठकमा महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो ।

१ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।   सभामुख अग्नी प्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी वैठकमा छलफल गर्ने बताउनु भयो । अर्को बैठक आउँदो चैत २ गते बोलाइएको छ ।

महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार बढेको गुनासो आएको र पटक–पटक सर्वोच्च अदालतको न्याय सम्पादनमा शुद्धीकरणको आवाज उठे पनि त्यसो हुन नसकेको उल्लेख गर्नुभयो । 

यस्तै प्रधानन्यायाधीश जबराकै कारण अदालतप्रति नागरिकको भरोसा घट्दै जान थालेको, संविधानले दिएको क्षेत्राधिकारभित्र रहेर राणाले जिम्मेवारी पूरा गर्न नसकेको, कार्यक्षमता र आचरणको अभाव देखिएका विषय पनि महाअभियोग प्रस्तावमा उल्लेख छन् ।


प्रकाशित | २९ फाल्गुन २०७८, आईतवार १५:४४