लाप्राक प्रोजेक्ट सम्पन्न गर्न उपाध्यक्ष लामालाई जिम्मेवारी, साढे दुई महिना पछि बाँकि काम पुनः शूरु

लाप्राक (गोरखा ) : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले लाप्राक प्रोजेक्ट सम्पन्न गर्न उपाध्यक्ष सोनाम लामालाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्ष लामालाई प्रोजेक्ट सम्पन्न गर्ने गरि संयोजकको जिम्मेवारी प्रदान गरिएसँगै लकडाउनकाबीच पनि प्रोजेक्टको काम पुनः शूरु भएको छ ।

सो प्रोजेक्ट शूरु गर्दादेखि प्रोजेक्टको लागि महत्वपूर्ण योगदान गर्नुभएको उपाध्यक्ष लामाले बाँकि काम छिटो भन्दा छिटो सक्न लकडाउनकाबीच पनि जोखिम मोलेरै लाप्राक पुग्नुभएको छ । लाप्राक पुगेर स्थानीयबासीसँगको छलफलबाट प्रोजेक्टको काम पुन: शूरु गरिएको हो ।

लकडाउनकाबीच जोखिम मोलेरै लाप्राकमा

उपाध्यक्ष लामाले परियोजनाको संयोजकको जिम्मेवारी तोकिएपछि महिना दिन अगावै लाप्राक जाने योजना बनाउनु भएको थियो । तर लकडाउनको कारण विभिन्न प्रयास गर्दा पनि लाप्राक जान नसकेकोमा ठूलो प्रयासस्वस्प जोखिम मोलेरै लाप्राक पुग्दै पुन काम शूरु गर्न पाएकोमा उपाध्यक्ष लामा खुसी ब्यक्त गर्नुहुन्छ ।

लामो प्रयासपछि बल्ल जानको लागि पास मिलेकाले रातभर पानी पर्दा पनि जोखिम मोलेरै लाप्राक पुगेको लामाले बताउनुभयो । लाप्राकमा कोभिड १९ को वर्तमान अवस्थालाई ध्यान दिर्दै सुरक्षाकर्मीका साथ स्थानीयबासीलाई भेला हुन अनुमती दिइएको थियो ।

स्थानीयबासी उत्साहीत

लकडाउनकाबीच पनि बाँकि काम शूचारु गर्न उपाध्यक्ष लामासहितको टोली लाप्राक पुगेपछि स्थानीयबासी उत्साहीत देखिन्थे । प्रोजेक्ट शूरुवात गर्दा लाप्राकबासीसँगै बसेर काम गरेको र लाप्राकमा धेरै मेहनत गर्नुभएको उपाध्यक्ष लामा आउने जानकारी पाएपछि सयौ लाभग्राही सहभागि भएका थिए । लगभग ४ सयको हाराहारीमा स्थानीय भेला भएका थिए । सो अवसरमा स्थानीयले अब चाँहि निर्माण कार्य पूरा हुनेमा विश्वास पलाएको भन्दै खुसी समेत ब्यक्त गरेका थिए ।

स्थानीय बेरोजगारलाई नै काम

परियोजनाको संयोजक लामाको नेतृत्वमा गएको टोलीले धार्चे गौपालिकाको अध्यक्ष सन्तोष गुरुङ र धार्चे गाउपलिका वडा नं ४ अध्यक्ष राज गुरुङसँग तथा लाभग्राहीहरु सँग छलफल गरी लाप्राक नमुना बस्तीको निर्माण कार्य संचालनमा स्थानीयलाई रोजगारी प्रदान गर्ने गरी कार्य अगाडि बढाउने निर्णय गरेको हो । स्थानीय युवा तथा लाभाग्राहीहरु कोरोनाको असरले बेरोजगार भई गाउँमै बस्न बाध्य भएको बेला स्थानीयलाई नै काम दिने गरि निर्णय भएसँगै बाँकि काम शूरु भएको हो ।

तीन महिनाभित्र सक्ने सहमति

सो भेलाले मौसम प्रतिकुल भएको कारणले धार्चे गाउँपालिकाको नेतृत्वमा परियोजनालाई ३ महिना भित्र सक्ने सहमति गाउँपलिकासँग गरिएको छ । काठको तला थप्नको लागि गाउँपालिकाको नेतृत्वमा लाभाग्राहीहरुले आफै काठको व्यवस्थापन गरि निर्माण कार्य गर्ने र उनीहरुको ज्याला बराबरको रकम गाउँपालिकाको खातामा गैर आवासीय नेपाली संघले जम्मा गरिदिने सहमति गरिएको हो ।

त्यस्तै, शौचालय निर्माणको बाँकी कार्य तथा घरमा विद्युत जडान गर्ने कार्य गाउँपालिकाको नेतृत्वमा तालिमप्राप्त लाभाग्राहीहरुले गर्ने र सो काममा लाग्ने सामग्री तथा ज्याला बराबरको रकम गैर आवासीय नेपाली संघले उपलब्ध गराउने सहमति पनि भएको छ ।

लाप्राक नमुना बस्तीमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत आपूर्ति गर्न गाउँपालिका तथा गैर आवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ । साथै लाप्राक नमुना बस्ती परियोजनामा पूर्वाधार विकासको लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणबाट प्राप्त हुने सहयोगको लागि गाउँपालिका तथा गैर आवासीय नेपाली संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरिएको छ ।

टोलीमा संघको कार्यकारी निर्देशक राजेश राणा र पुर्व परियोजना व्यवस्थापन समिति सदस्य श्याम तामांग तथा धार्चे गाउँपालिका वडा नं ४ का बुद्धिजीवी तथा अत्याधिक लाभग्राहीहरुको उपस्थिति रहेको थियो । सोही क्रममा लाप्राक स्वास्थ्य चौकीलाई कोभिड १९ रोकथामको लागि आवश्यक केही स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरिएको थियो।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राक गाउँमा एनआरएनएले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएनए तत्कालीन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश भने २०७३ माघमा भएको थियो। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो ।

गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । गुरुयोजनामा उल्लेख गरिए अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १६:२३