गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ बाट नियमित उडानको तयारी

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै अब सञ्चालनका लागि आवश्यक पर्ने अत्यावश्यकीय कार्यालय स्थापनाको काम अघि बढाइएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायतका अत्यावश्कीय कार्यालय स्थापनाको काम अगाडि बढाइएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिनुभयो ।

विमानस्थलमा केही निकायले आफ्ना कर्मचारी खटाइसकेको र केही कर्मचारी तथा सुरक्षाकर्मीहरु आउन बाँकी रहेको दाहालको भनाई छ । “सबैसँग हाम्रो समन्वय भइरहेको छ । सेनाको दरबन्दी पनि भइसक्यो, नेपाल प्रहरीको दरबन्दी सिर्जना भएर आउन थालिसक्यो” दाहालले भन्नुभयो । हामीलाई विमानस्थलमा चाहिने निकायहरू तयारी अवस्थामा राखिरहेका छौं उहाँले भन्नुभयो ।

दाहालकाअनुसार ७०–८० जना प्रहरी काममा खटिसक्नु भएको छ । “एक सय जनालाई हामी व्यवस्थापन गर्न सक्छौं, विमानस्थलको सुरक्षाका लागि १७६ जनाको प्रहरी दरवन्दी सिर्जना गरिएको छ” उहाँले बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि नियमित उडान सुरू गरिने बताइएको छ । अत्यावश्यकीय कार्यालय स्थापनाको काम तीव्र रुपले अगाडि बढाइएको महाप्रवन्धक दाहालले बताउनुभयो ।

विमानस्थल सञ्चालनका लागि अध्यागमन, भन्सार, क्वारेन्टीन, तीनवटा सुरक्षा निकाय, हुलाक, हेल्थ डेस्कलगायतका निकायका कार्यालय राख्नुपर्ने हुन्छ महाप्रबन्धक दाहालले बताउनुभयो । भन्सार र अध्यागनका लागि कार्यालय भवन तयार भइसकेको र सुरक्षाकर्मी बस्न आवश्यक थप भवन बनिरहेको दाहालले जानकारी दिनुभयो ।

“विमानस्थलमा राष्ट्रिय सुरक्षा, देशको अर्थतन्त्रको विकास र मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी अध्यागमनको रहने भएकाले यसलाई व्यवस्थित बनाउने गरी तयारी भैरहेको छ” उहाँले भन्नुभयो, “यो अन्तर्राष्ट्रिय विमानस्थल आयात निर्यातसहित वैदेशिक व्यापार हुने केन्द्र समेत हो । सोहीकारण विमानस्थलमा भन्सार कार्यालय स्थापना गरी त्यससम्बन्धी काम हुनेगरेका छन् ।”

गौतमबुद्ध विमानस्थलमा पनि भन्सार कार्यालय स्थापना गर्ने निर्णय दुई वर्षअघि नै अर्थमन्त्रालयले गरेको थियो । सोहीअनुसार कार्यालय भवन निर्माण भैसकेको महाप्रवन्धक दाहालले बताउनुभयो । त्यस्तै, जल तथा मौसम विज्ञान विभागको लागि उपसचिवको नेतृत्वमा १७ जनाको दरवन्दी छ । विमानस्थलका लागि आवश्यक पर्ने फ्लाईट क्याफे सञ्चालनका लागि काठमाडौंको सोल्टी होटलसँग कुराकानी भैरहेको दाहालले बताउनुभयो । गोरखापत्र दैनीकममा प्रकाशित छ ।


प्रकाशित | ९ फाल्गुन २०७८, सोमबार ०८:५७