‘मिडिया काउन्सिल विधेयक’को विरोधमा पत्रकार महासंघद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौ: सरकारले माग पूरा नगरको भन्दै नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले सरकारले माग पूरा नगरेको भन्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदासम्म सरकारले माग पूरा गर्न कुनै पहल नगरेको निष्कर्ष निकाल्दै दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासचिव विष्टका अनुसार घोषीत कार्यक्रमअनुसार जेठ ६ र ७ गते महासंघका पूर्व अध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग परामर्श र सञ्चार अभियान चलाउने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल गरिनेछ ।

त्यस्तै, जेठ २१ र २२ गते महासंघका सबै जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघ संस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र जेठ २५ गते दिउँसो ३ बजे नयाँ बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो प्रदर्शन गर्ने र काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेका ठाउँमा यस्तै प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने निर्णय भएको छ । बैठकले मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १८:३०