हिमालय एयरलाइन्सले थाल्यो युएईको आबुधावीमा उडान

काठमाडौं: हिमालय एयरलाइन्सले युएईको आबुधाबीमा उडान थालेको छ । एयरलाइन्सले आइतबार पहिलो पटक उडान भरेको थियो । हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी १५८ सिट टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य विभिन्न कार्यकारी व्यक्तित्वहरूको सहभागितामा एक भव्य कार्यक्रमसहित आइतबारदेखि उडान सुरु भएको थियो । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएकोले काठमाडौँ–आबुधाबी–काठमाडौँको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने ढुङ्गानाले बताउनुभयो ।

ढुङ्गानाका अनुसार बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १०:२६