एमसिसीका बारेमा फैलाइएको भ्रम चिर्न आवश्यक छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनु भएको छ।

शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उहाँले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भन्नुभयो । उहाँले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उहाँले बताउनुभयो ।

आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।”

कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरु तारा गुरुङ, प्रमिशा काफ्लेलगायतले बोल्नुभएको थियो ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार ११:४७