बेनी–जोमसोम सडक स्तरोन्नतिमा ढिलासुस्ती

बेनी : पर्यटकीय र ब्यापारिक केन्द्रको सम्भावना भएको मुस्ताङमा कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजना निर्माणकार्यमा ढिलासुस्ती देखिएको छ । प्रदेश ४ को ‘लाइफ लाइन’ मानिएको ४३५ किलोमिटर दूरीको त्रिवेणी–कोरला जोड्ने कालिगण्डकी करिडोर सडक योजनाको निर्माणकार्य भइरहे पनि पूर्वाधार निर्माण ढिलासुस्तीले समयमै काम सम्पन्न नहुने देखिएको हो ।

करिडोर पाँच अर्ब रुपैयाँको लागतमा म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै  चीनको सिमाना कोरला नाका जोड्ने १८६ किमि दूरीको सडक स्तरोन्नतिको काम भइरहेको छ । गण्डकी प्रदेशको गौरवको आयोजना २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वरदेखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाइटेड विल्डरले ४२ प्रतिशत काम सम्पन्न गरेको साइट प्रमुख बलराम अर्यालले जानकारी दिए । अर्यालले २२ महिनाभित्र काम सम्पन्न गर्न सडक निर्माणमा आवश्यक मेसिनरी साधन पर्याप्त मात्रामा प्रयोग गरेको जानकारी दिए पनि श्रमिक जनशक्ति कम प्रयोग र सहज क्षेत्रमा पूर्वाधार निर्माणको कामले मात्र समयमै काम सम्पन्न हुने देखिँदैन । यो समाचार कारोबार दैनिकले छापेको छ ।

जोमसोमदेखि कोरलासम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७७ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा विभाजन गरिएको सडक योजनामा परिचालित निर्माण कम्पनीले मोटरेबलपुल निर्माणलगायतको पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन् । सडक निर्माणमा गुणस्तरभन्दा पनि जथाभावी मेसिनरी सामान प्रयोग गरेर कमाउने शैली मात्र देखिन्छ । श्रमिक संख्या न्यून परिचालन गरेर समयमै करिडोर सम्पन्न नहुने स्थानीय सरकार बताउँछन् ।

कालिगण्डकी करिडोर सडकको स्तरोन्नति समयमा सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पुग्ने आशा गरिए पनि ठेकेदारको बेवास्ता, पर्याप्त बजेट र भौगोलिक बनावटअनुसार कामदारको न्यून संख्याले कालिगण्डकी करिडोर सडक योजना समयमा सम्पन्न नहुने देखिन्छ ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०८:०९