कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन शनिबार हुँदै, सभापति देउवाले उद्घाटन गर्ने, चर्चित कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने

काठमाडौँ:  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन भोलि (शनिबार) बाट सुरु हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली चौरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय सभापति कबिर शर्माले जानकारी दिनुभयो ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सभापति देउवासहित कांग्रेसका प्रवक्ता प्रकाश शरण महत र नेता प्रकाशमान सिंहको उपस्थिति रहने छ । २ दिनसम्म चल्ने सम्मेलनमा आइतबार सम्पन्न हुनेछ । उक्त दिन महामन्त्री गगन थापाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नेपाली नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित हुने क्षेत्रीय सम्मेलनमा चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहनेछ । जसमा प्रताप दास, रचना रिमाल, सज्जा चौलागाई, अस्मिता अधिकारी र डिजराज अधिकारीले सांगीतिक प्रस्तुति दिनेछन् ।

सम्मेलनमा सम्पूर्ण पार्टी पंक्तिका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, विभिन्न भात्री संगठनका पदाधिकारी, महाधिवेशन, महासमिति सदस्यहरु, टोल समितिका पदाधिकारीलगायत कांग्रेससँग आस्था राख्ने नेपाली समुदायलाई सहभागीताको लागि क्षेत्रीय सभापति शर्माले अनुरोध गर्नुभयो ।

सम्मेलनमा महानगरका २ वटा वडा, कागेश्वरी मनोहराका ६ वडा र शंखरापुरका ९ वटा गरि १७ वडाका नेपाली कांग्रेस प्रति आस्थावान स्थानीयहरुको सहभागिता रहने बताइएको छ ।


प्रकाशित | २३ चैत्र २०८०, शुक्रबार २२:४९