काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार पार्टीका एकाइहरु गठन गर्ने

काठमाडौ: नेपाली काङ्ग्रेसले नयाँ संरचनाअनुसार नै पार्टीका एकाइहरु गठन गर्ने भएको छ । कांग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै नयाँ संरचना निर्माण गर्ने भएको हो ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विधानको व्यवस्थाभन्दा बाहिर केन्द्रीय सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचार निराधार भएको विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसको विधानमा पार्टीको नयाँ संरचना गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार वैशाख २२ गते बस्दैछ । पार्टीले संशोधित विधान कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुने पार्टी कार्यालयले जनाएको छ ।


प्रकाशित | २० असार २०७६, शुक्रबार ११:०१