एनआरएनएको निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न डा. केसी समूहको माग

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसी समूहले एनआरएनएको निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न माग गरेको छ । केसी समूहले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल निर्वाचन कार्यतालिका प्रकाशन गर्न माग गरेको हो ।

‘संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन, पत्रकार सम्मेलन गर्दै केसीले भन्नु भएको छ,’ त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु ।’

महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको बताउँदै केसीले तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न पनि आग्रह गर्नु भएको छ ।

‘निर्वाचनमा भएको ढिलाईले विश्वभरका ३६०० बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार मात्रै खोसिएको छैन उनीहरु संस्थाप्रति उदासिन बनेका छन्’ केसीद्धारा जारी विज्ञप्तीमा भनीएको छ, ‘साथै, यस अन्योलले समग्र गैरआवासीय नेपाली संघको छवि धमिलिँदै विकृतिहरु बढेको भान परेको छ । गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको अवस्थामा यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु न्यायोचित न्यायोचित छैन ।’

‘यहाँ म, स्मरण गराउन चाहान्छु, कि संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि,विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ’, केसीद्धारा जारी विज्ञप्तीमा भनीएको छ, ‘त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको विदितै छ ।’

यस बाहेक पनि आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय,र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको उल्लेख छ ।

‘तर, यी सबै आधारहरुलाई वेवास्ता गरी, पटक पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु कत्तिको उचित होला ? र भोलिका दिनमा कस्तो नजीर स्थापित गर्ला हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमिक्षासहित सोच–विचार गर्नैपर्ने देखिएको छ’, विज्ञप्तिमा भनीएको छ ।

निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय राखिएको केसीले उल्लेख गर्नु भएको छ ।

‘यी सबै गतिविधिलाई पनि निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएका छौँ । अन्यथा, संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार यहाँ देखिँदैन’, केसीले विज्ञप्तिमा भन्नु भएको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा हेमराज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डीबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अस्ट्रेलिया), महिला उपाध्यक्ष यसमिन बेगम सैयद (साउदी अरब), युवा उपाध्यक्ष रोशन थापा (अफ्रिका), महासचिव गौरीराज जोशी, सचिव पदका उम्मेदवारहरु रामशरण सिम्खडा (यूके), चिरञ्जीवी घिमिरे (क्यानडा), ओम गुरुङ (जापान) र राधिका (टीका) गुरुङ (हङकङ), कोषाध्यक्षका उम्मेदवार लोकप्रसाद दाहाल (बेल्जियम) को उपस्थिती थियो । यस्तै महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका), महिला संयोजककी उम्मेदवार संगीता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) को उपस्थिती थियो ।


प्रकाशित | २४ माघ २०७८, सोमबार १०:३८