अन्तर्राष्ट्रिय हवाई यात्रु घटे, आन्तरिक बढे

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।

आन्तरिकतर्फ अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रु विमानस्थलले ह्यान्डल गरेकोमा डिसेम्बरसम्म ३३ लाख पुग्ने अनुमान गरिएको छ ।
सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु रहेकोमा २०१८ मा यो संख्या ११।७ प्रतिशतले वृद्धि भइ ४३ लाख ४२ हजार ४८६ पुगेको थियो ।

आन्तरिक उडानतर्फ भने सन् २०१७ मा २४ लाख ५१ हजार ३९० यात्रु आवागमन भएकोमा २०१८ मा १६।१६ प्रतिशतले वृद्धि भइ २८ लाख ४७ हजार ७५२ पुगेको थियो । यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा कुल हवाई यात्रु १३।४२ प्रतिशतले वृद्धि भइ जम्मा ७१ लाख ९० हजार २३८ पुगेको जनाइएको छ ।


प्रकाशित | १६ पुष २०७६, बुधबार ०९:५१