भ्याटमा १८ अर्ब बढीको नक्कली कारोबार

काठमाडौं : राजस्व अनुसन्धान विभागले चालु वर्षको जेठसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारबारे गरेको अनुसन्धानले १८ अर्ब ६२ करोड रुपैयाँ राजस्व अपचलन भएको फेला पारेको छ। यो अपचलनमा सयौं कम्पनी संलग्न भएपछि सबैभन्दा बढी सुन कारोबारी रहेको देखिएको छ। विभागका अनुसार दुईवटा सुनको कारोबार गर्ने कम्पनीले मात्र एक अर्ब ८३ करोड रुपैयाँ भ्याट छली गरेको फेला परेको हो। कम्पनीको प्रकृति हेर्दा यो सबभन्दा बढी चुहावट हो।

विभागले गरेको अनुसन्धानबाट रौतहटको गौर नगरपालिका–५ बस्ने २१ वर्षीय अनुकेशकुमार साह र सोही ठाउँ बस्ने विजयकुमार साहले एक सय ५६ किलोग्राम भन्दा बढी सुन चोरी पैठारी गरेको फेला परेको हो। यो अपचलनबाट राजस्व छली भएको भन्दै विभागले एक अर्ब ६६ करोड २० लाख रुपैयाँको बिगो लिई मुद्दा दायर गरेको छ।

विभागले उनीहरूविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। चोरी पैठारी गरिएकोे सुनलाई आर्थिक वर्ष ०७४र७५ मा एक किलो र ०७५र७६ मा तीन किलोग्राममात्र बिक्री अनुमति रहेको विजयकुमार साहको नाममा दर्ता रहेको छेमा माई ज्वलेर्सबाट बिक्री वितरण गरेको विभागले जनाएको छ।

त्यस्तै, विभागले रसुवाको नौकुण्ड–१, बस्ने ३० वर्षीय शेरग्याल्बो घलेले सात केजी सुन चोरी पैठारी गरेको अभियोगमा जेठ ६ गते रसुवा जिल्ला अदालतमा १७ करोड ७९ लाख ४० हजार रुपैयाँ बिगो र जरिवाना माग दाबीसहित मुद्दा दायर गरेको छ। यो समाचार आजको नागरिक दैनीकमा प्रकाशित छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १०:०६