काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले) सँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ । गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताउनुभएको हो ।
ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा गर्दै नेता खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गर्नुभयो । एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उहाँको भनाइ थियो ।
पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट लुकाएको आरोप लगाउँदै उहाँले ती डकुमेन्ट गम्भीर भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताउनुभयो ।
एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गर्नुभयो ।
एमसीसी अमेरिकाको एशिया प्रशान्त रणनीतिकै अंग भएको दावी गर्दै उहाँले यसलाई चिनियाँ परियोजना बीआरआईसँग तुलना गर्न नमिल्ने पनि बताउनुभयो ।
प्रकाशित | २० माघ २०७८, बिहीबार १८:३३