‘एक एनआरएन, एक विदेशी’ नेपाल पठाउने अभियान कार्यान्वयन गर्न सक्दो प्रयास गरौं’

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले ‘एक एनआरएन एक विदेशी’ नेपाल पठाउने अभियान कार्यान्वयनमा लागिपर्न विश्वभरका सबै एनसिसीलाई आग्रह गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघले यसअघि नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्न सहमत जनाउँदै हस्ताक्षर गरेको थियो ।

सोही समझदारी गरेसँगै एनआरएनए गठन भएको विश्वभरका सबै एनसिसीलाई अध्यक्ष पन्तले अभियान लाई कार्यान्वयन गर्न लागिपर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष पन्तले समझदारी पत्रको विषयमा जानकारी गराउँदै नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग गर्न लागिपर्न विभिन्न सम्भावीत कार्यक्रमका बुँदासहित परिपत्र गर्नुभएको हो ।

नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले गर्नुपर्ने १० बुँदे कार्यक्रमको फेहरिस्टसहितको निर्देशन गर्नुभएको हो । यस्तो छ, अध्यक्ष पन्तले गर्नुभएको परिपत्र जस्ताको तस्तै :-

नेपाल भ्रमण वर्ष २०२० का सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) का राष्ट्रिय समन्वय परिषदहरुलाई अध्यक्ष कुमार पन्तज्यूको अनुरोध।

सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्षज्यूहरु,
गैर-आवासीय नेपाली संघ
सबैमा नमस्कार ।

बिषय: नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले गर्ने कार्यक्रमहरु बारे ।

प्रिय मित्रहरु,

गैरआवासीय नेपाली संघले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न २०१९ लाई नेपाल प्रबर्द्धन बर्षको रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको यहाँहरुलाई अवगत नै छ । नेपाल भ्रमण बर्ष २०२० लाई अझ प्रभावकारी रुपमा प्रबर्द्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण बर्ष २०२० को सचिवालय बीच एक सहमतीमा हस्ताक्षर भएको छ ।

भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टज्यूको अध्यक्षतामा एक कार्यदल नै बनाई काम अघि बढाउने निर्णय अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गरेको छ । निवर्तमान अध्यक्षज्यूबाट अब उपरान्त सोझै यहांहरुसंग सम्पर्क गर्नु हुने नै छ । सबै राष्ट्रिय समन्वय परिषदमा राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको संयोजकत्वमा एक कार्यदल बनाई भ्रमण वर्ष सफल पार्न अनुरोध गर्दछु । केही संभावित कार्यक्रमको फेहरिस्त तल दिईएको छ ।

१. नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सम्बन्धीत दूतावसतावास संग सहकार्य गरि दूतावास भित्र स्थापना गरेको नेपाल भ्रमण डेक्स संचालनको लागि १/२ जना स्वयंमसेवकको व्यवस्था गर्ने । सकिन्छ भने हरेक दिन गर्ने नसके हप्तामा अनकूल पर्ने दिनमा त्यस्तो व्यवस्था गर्ने ।

२. नेपाल भ्रमण वर्ष २०२० को उदघाटन कार्यक्रमहरु आयोजनागर्न नेपाली नियोगलाई सहयोग गर्ने ।

३. गैरआवासीय नेपालीहरुका परिवार, विदेशी मित्र, सहपाठी, सहकर्मीहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने र बिभिन्न खालाका कार्यक्रमहरुको आयोजना गर्ने । “यसपालीको विदा परिवार र साथीभाईका साथ नेपालमा” अभियान संचालन गर्ने ।

४. नेपाल सरकारको आह्वान अनुसार ७ जनवरी, २०२० देखि अधिकारिक रुपमा विदेशमा रहेका नेपाली नियोगहरु मार्फत नेपाल भ्रमण बर्ष २०२० प्रचार प्रसार गर्ने कार्यक्रम भए अनुसार आजै देखि नियोगहरु संग समन्वय गरि वा नियोगहरु नभएका देशहरुमा राष्ट्रिय समन्वय परिषद् आर्फैले विभिन्न प्रचारात्मक कार्यहरु आयोजना गर्ने जस्तै साईक, मोटर साईक वा कार र्‍याली आदि ।

५. नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले उपलब्ध गराएका प्रचार प्रसारका समाग्रीहरु विदेशमा रहेका नेपालीहरुका व्यवसाय स्थलबाट प्रचार प्रसार गर्ने गराउने ।

६. विदेशमा रहेका संचार गृहका प्रतिनिधिहरुलाई नेपाली नियोगहरु संगको सहकार्यमा नेपाल बारे जानकारी गराउने उदेश्य अनुरुप नेपालको भ्रमण गराउने र एक उच्च स्तरिय राजनीतिक प्रतिनिधि मण्डललाई नेपालको भ्रमण गराउन प्रयास गर्ने ।

७. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्हरुले एक्लै वा नियोग संगको सहकार्यमा आयोजना गरेका बिभिन्न कार्यक्रमहरुमा समाजका प्रतिष्ठित व्यक्ति, पर्यटनका बारेमा लेख्ने संचारकर्मी, ट्राभाल ब्लोगर्स आदिलाई समेत आमन्त्रण गर्ने र उनीहरुका सहयोग मार्फत नेपालको पर्यटनको प्रबर्द्धन गर्ने ।

८. “साथीहरु घर पठाउ” Send Home Friends अभियानको आयोजना तथा कार्यान्वयन गर्ने ।

९. स्थानिय स्तरमा प्रभाव पार्न सक्ने तथा नेपाल प्रति झुकाव भएका व्यक्तिहरुको पहिचान गरि उहाँहरुको संलग्नता बिभिन्न कार्याक्रमहरुको आयोजना गर्ने र यस्ता व्यक्तिहरुलाई नेपालमा सम्मान गर्न सिफरिस पठाउने ।

१०. सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुले नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्न सक्रिय योगदान गर्दै सम्बन्धीत नियोगहरुलाई पूर्ण सहयोग गर्ने ।

सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्न आ-आफ्नो कार्य तालिका सहितको कार्य योजना बनाई यस जनाकारी पाएको दश दिन भित्र अन्तर्राष्ट्रिय समन्वय परिषदमा अवगत गराउन समेत अनुरोध गर्दछु ।

साथै हुनगइरहेका नेपाल भ्रमण वर्षका उद्घाटनका कर्यक्रमहरुमा सहभागी हुन र राष्ट्रिय समन्वय परिषदको सहभागिता सुनिस्चित गर्न समेत अनुरोध गर्दछु ।

सबै कार्यक्रमको लागि निवर्तमान अध्यक्षज्यू एबम् सचिवालयसंग समन्वय गर्न समेत अनुरोध छ ।

धन्यवाद ।
कुमार पन्त,
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद्,
गैरआवासीय नेपाली संघ ।


प्रकाशित | १९ मंसिर २०७६, बिहीबार २१:२८