इण्डियन प्रिमियर लिग : कलकत्तामाथि हैदरावादको शानदार जित

एजेन्सी : भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकत्ता नाईट राइडर्सले पराजित गरेको छ । आइतबार भएको खेलमा हैदरावादले कोलकत्तालाई ९ विकेटले पराजित गरेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६० रनको लक्ष्य हैदरावादले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा जोनी बेयर्सटो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयर्सटो ८० रनमा अविजित रहदा वार्नरले ६७ रन बनाए ।

कप्तान केन विलियमसन ८ रनमा अविजित रहे । कोलकत्ताका पृथ्वी राजले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । कोलकत्ताका लागि क्रिस लिनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिन्कु सिंहले ३० तथा सुनिल नारिनेले २५ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ तथा भुवनेश्वरले २ विकेट लिए ।

यो जितसंगै हैदरावादले लिगमा पाँचौ जित निकालेको छ । ९ खेलबाट १० अंक जोडेर हैदरावाद चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको कोलकत्ताको १० खेलबाट ८ अंक रहेको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार २१:४५