आफ्नो मागलाई वेवास्था गरिए राप्रपा दुर्घटनामा पर्ने कमल थापाको चेतावनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफ्नो मागलाई वेवास्था गरिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिनु भएको छ । आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिनु भएको हो ।

‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्‍याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु’, अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै भन्नु भएको छ । अध्यक्ष लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानकर्षण पत्र पठाउनु भएको हो । पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको थापाको भनाइ छ।

थापाले भन्नु भएको छ, ‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’

अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु राजसंस्था प्रतिको विरोध नभएको स्पष्ट पार्नु भएको छ । ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन’, पत्रमा भनिएको छ, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो ।’

थापाले एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यताविपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रिय सभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्यबारे थप चिन्ता बढेको पनि बताउनु भएको छ । ‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको देखिन्छ’, थापाले भन्नु भएको छ ।


प्रकाशित | १६ माघ २०७८, आईतवार १८:५०