स्मार्ट सिटीको नाममा रोक्का जग्गा निकासको माग गर्दै पूर्वी उपत्यकाका पाँच मेयरहरुले बुझाए सहरी विकास मन्त्री गुरुङलाई ज्ञापनपत्र, दसै अगावै ठोस निर्णय दिने सरकारको प्रतिबद्धता

काठमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गालाई निकास दिन पूर्वी उपत्यकाका ५ मेयरको दबाबले अन्ततः सार्थकता पाएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, शंकरापुर नगरपालिकाका मेयर रमेश नापित र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले शुक्रबार शहरी विकास मन्त्री सीता गुरुङलाई भेटी सो बारे संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले सो बारे विशेष चासो राख्नु भएको थियो । बिहान करिब २ घण्टा मेयरहरुसंग गहन छलफल गरे पश्चात मन्त्री गुरुङले तत्कालै मन्त्रालयका सहसचिव, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त र आयुक्तहरुलाई बोलाएर निकासका लागि नगर प्रमुखहरुसँग पुनः छलफल गर्नु भयो । छलफलपश्चात दसै अगावै उपत्यकाका १८ वटै नगर प्रमुखलाई राखेर भौतीक विकास समितिको बैठक बोलाउने र ठोस निर्णय दिने सहमति भएको छ ।

बुधबार मात्र पाँच नगरप्रमुखहरुको बैठकले शहरी विकास मन्त्रालयले रोक्का गरि राखेको जग्गा तत्काल फुकुवा नगरेमा स्थानीय सरकारको अधिकार बमोजीम जग्गा कित्ताकाटको सिफारिस गर्न स्थानीय सरकार अगाडि बढ्ने निर्णय गरेको थियो ।

No description available.

सरकारले ठोस निर्णय दिने प्रतिबद्धता जनाएपनि मेयरहरुले भने अन्तिम निकास नहुन्जेलसम्म निरन्तर संघर्षका कार्यक्रम जारी राख्ने बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कार्कीले भन्नु भयो, “बढ्दो शहरीकरणका कारण अब स्मार्ट सिटी बन्ने अवस्था छैन, जनता प्रताडित छन् । त्यसैले जग्गा फुकुवा नभएसम्म चरणबद्ध रुपमा सघर्षका कार्यक्रम जारी राख्छौ । ”

काठमाडौं उपत्यकाका पूर्वी पाँच वटा नगरपालिकाका क्षेत्रमा पर्ने जग्गाहरु शहरी विकास मन्त्रालयले २०७४ असार ५ गते राजपत्रमा सूचना प्रकाशित गरि तीन वर्षको लागि नयाँ शहर निर्माण एवं विकास गर्ने र सो जग्गा उपत्यका विकास प्राधिकरणको पूर्वी स्वीकृति विना कुनै प्रकारको भौतीक परिवर्तन वा टुक्राउन नपाउने गरि रोक लगाइएको थियो । तर उक्त ५ देखि ७ वर्षभित्र पूरा गर्ने भनिएको योजना ६ वर्षसम्म पनि सुरु सकेको छैन ।

स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा, शंखरापुर नगरपालिका ५, ६, ७ र ९ का क्षेत्र, भक्तपुर नगरपालिका २, ६ र १० वडा, मध्यपुर थिमी नगरपालिका २, ६, ७, ८ र ९ वडा, चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का छ ।

No description available.

यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकका क्षेत्र) समेटिएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको १, ४, ५, ६ र ७ नम्बर वडाका भागहरूको १८ हजार १ सय ४ रोपनी क्षेत्रफलमा नयाँ नगर बनाउने लक्ष्य छ । यो आयोजनाको पूर्वी सिमाना सिर्जनानगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुन्डु बसपार्कसम्म, पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक, गाम्चाचोक हर्षचोकदेखि हनुमन्ते पुल हुँदै मध्यपुर थिमि बिरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल सिर्जना चोक र दक्षिणमा गुन्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्मको जग्गा समावेश छ ।


प्रकाशित | १९ आश्विन २०८०, शुक्रबार १९:४७