खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान नरोक्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताएको छ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताएको हो ।

कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताउनुभयो ।

अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुग्नुभएका महतले महानगरपालिका आफैले राहत पुर्‍याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताउनुभयो ।

कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताउनुभयो । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उहाँले बताउनुभयो ।

हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताउनुभयो । तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको थियो ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार २०:२२