‘मेरो सरकार’ भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्नु पर्दैन: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु को कुनै तुक नरहेको बताउनुभएको छ । प्रधानमत्री ओलीले भन्नुभयो, ‘मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्नु भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ।’

सरकारीनिवास बालुवाटारमा शनिबार संचारमाध्यमका सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमलाई लिएर विरोध गनुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समृद्ध नेपाल निर्माणको आधार तयार पार्ने योजना रहेकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर गर्नुभयो ।

पटक पटक राष्ट्रपतिलाई विवादमा ल्याउने काम भैरहेको भन्दै प्रधानमन्त्रीले अरु नेपालीले मेरो देश र मेरो सरकारभन्दा साधारण अर्थ लाग्ने तर राष्ट्रपतिले मेरो सरकारभन्दा असाधारण अर्थ किन लगाइयो भनेर प्रश्न पनि गर्नुभयो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १३:२९