राष्ट्रियसभा निर्वाचन : १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार विजयी, प्रदेश १ मा एमालेको एक सीट (सूचीसहित)

काठमाडौं  –  आज भएको राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनीक गरेको नतिजाअनुसार १९ मध्ये १८ सिटमा पाँच दलीय गठबन्धनले विजयी हासिल गरेको छ भने एक सिटमा एमालेले जितेको छ ।  १९ मध्ये प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी हुनु भयो भने अन्य सबै सिट सत्तारुढ गठबन्धनले जितेको हो ।

आज भएको राष्ट्रिय सभा चुनावपछि २३ सिटसहित सबैभन्दा ठूलो दल रहेको एमालेले ७ सिट गुमाउँदै राष्ट्रियसभा अध्यक्षसहित १६ मा खुम्चिएको छ ।  यद्यपी उसले पहिलो ठूलो दलको हैसियत भने कायमै राखेको छ ।

एमालेपछि दोस्रोमा माओवादी केन्द्र ठूलो दल बनेको छ । यसअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्न सफल भएको हो । यो सँगै माओवादीको राष्ट्रियसभामा १५ सिट पुगेको छ ।

त्यस्तै, नेपाली कांग्रेस तेस्रो ठूलो दल बनेको छ । चुनावअघि ७ सिट रहेको कांग्रेसले आज भएको निर्वाचनमा तीन सिट जितेको छ । यो सँगै राष्ट्रियसभामा कांग्रेसको सिट संख्या १० पुगेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी चौथो ठूलो दल बनेको छ । चुनावअघि ७ सिटमा रहेको नेकपा एसले एक सिट थप्दै ८ सिट पुर्याएको छ । एक सिट रहेको जनता समाजवादीले एक सिट जित्न सफल भएको छ । यो सँगै राष्ट्रियसभामा जसपाका दुई सांसद पुगेको छ।

त्यस्तैगरि, राष्ट्रिय जनमोर्चाले एक सिट जित्दै राष्ट्रियसभामा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी हासिल गर्नु भएको हो । राष्ट्रियसभामा लोकतान्त्रिक समाजवादीको पनि एक सिट रहेको छ ।

कसले कति सिट जिते ?

एमाले– सोनम ग्याल्जेन शेर्पा (प्रदेश १)

नेपाली कांग्रेस- कृष्णप्रसाद पौडेल (वागमती), दुर्गा गुरुङ (कर्णाली), कमला पन्त (गण्डकी), युवराज शर्मा (लुम्बिनी), गोपाल बस्नेत (प्रदेश १) र नारायणदत्त मिश्र (सुदूरपश्चिम)

माओवादी केन्द्र- जगत पार्की (सुदूरपश्चिम), सुरेश आलेमगर (गण्डकी), नरबहादुर बिष्ट (कर्णाली), भुवनबहादुर सुनुवार (गण्डकी), उर्मिला अर्याल (मधेश)

एकीकृत समाजवादी- जयन्ती राई (प्रदेश १), गरिमा शाह (सुदूरपश्चिम), राजेन्द्रलक्ष्मी गैरे (लुम्बिनी), उदयबहादुर बोहरा (कर्णाली) र गोमा तिमिल्सेना (वागमती)

जनता समाजावदी- महमद खालिद (मधेश)

राष्ट्रिय जनमोर्चा- तुलबहार विश्वकर्मा (लुम्बिनी)


प्रकाशित | १२ माघ २०७८, बुधबार २०:५२