ट्रकको ठक्करबाट युवतीको मृत्युपछि कैलाली तनावग्रस्त, प्रहरीसहित ७ जना घाइते

काठमाडौं: ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ। लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। युवतीको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेको छ । प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सातजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिंह धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते हुनुभएको छ । अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १३:४५