बेलायत नर्सिङ जनशक्ति लैजान सहमत

काठमाडौँ –  नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएका छन् । काठमाडौँमा दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट स्वास्थ्य जनशक्ति (नर्स) पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भएको वार्ताबाट नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार आउँदो मार्च (फागुन–चैत)सम्ममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ । त्यसपछि नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा नर्सिङ श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पु-याउने विषयमा बैठकमा सहमति भएको उहाँले जानकारी दिनुभयो । नेपाली श्रमिक लैजाने ‘मोडालिटी’बारे भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडाँैमा रहेको बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार अहिलेसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् भने नौ हजार नर्स सरकारी सेवामा छन् । गोरखापत्र दैनीक


प्रकाशित | २ माघ २०७८, आईतवार ०९:५९