चीन शान्ति र न्यायको पक्षमा : वाङ वेनबिन

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयले युक्रेनमा रुसको कदमलाई लिएर चीनको निष्क्रियताबारे अमेरिकी आरोपको खण्डन गर्दै कडा शब्दमा निन्दा गरेको छ ।

अमेरिकाले युक्रेनमा सैन्य कारबाहीका लागि रुसको तयारीको बारेमा चीनलाई बारम्बार जानकारी दिएको र चीनलाई कदम चाल्न आग्रह गरेको भन्ने अमेरिकाको आरोपको खण्डन गर्दै चीनलाई बदनाम गर्न अमेरिकाले अफवाह फैलाएकोमा कडा शब्दमा निन्दा गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मामिलाका अमेरिकी विशेषज्ञ थोमस फ्राइडम्यान र अमेरिकी प्रतिनिधि सभाका पूर्व सदस्य तुलसी ग्याबार्डले युक्रेन संकटमा चीनको भूमिकाको आलोचना गरेको भन्दै त्यसलाई निकै चासोका साथ हेरेको बताउनु भएको चीनीयाँ संचारमाध्यम ग्लोबल टाईम्सले जनाएको छ ।

चीनले जहिले पनि शान्ति, सहयोग र न्यायको पक्षमा उभिने पनि उहाँले बताउनु भयो ।

उहाँले हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अन्य नेताहरूसँग फोन वार्ता गर्नुभएको, युक्रेन संकटको वार्ताबाट समाधान गर्न चीनले समर्थन गरेको र सबै पक्षलाई व्यापक समाधान खोज्न आह्वान गरेको उल्लेख गर्नुभयो। साथै युक्रेन संकट वार्ताकै माध्यमबाटै समस्या समाधान हुने विश्वास ब्यक्त गर्नु भयो ।

चीनले सधैं सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान र समर्थन गरिनुपर्छ भन्ने सिद्धान्तमा अडिग रहेको वाङ वेनबिनको भनाइ छ ।


प्रकाशित | १६ फाल्गुन २०७८, सोमबार २१:५३