गैर आवासीय नेपाली संघलाई कसैको व्यक्तिगत स्वार्थमा प्रयोग गर्न दिदैनौं : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थालाई कसैको ब्यक्तिगत स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको छ । आइतबार भएको एनसिसीहरुको विश्व भेलालाई सम्बोधन गर्नुहुँदै आचार्यले गैर आवासीय नेपाली संघलाई कसैको स्वार्थमा प्रयोग गर्न नदिने बताउनु भएको हो ।

गैर आवासीय नेपाली संघमा हृदयदेखि संस्थाको हित या व्यक्तिगत स्वार्थमा काम गरेको भन्ने कुरालाई छुट्याउनु पर्ने बेला आएको पनि उहाँले बताउनु भयो । दशौं महाधिवेशन सकेर अब बाँकी रहेका कामहरु गैर आवासीय नेपालीका नागरिकता, सम्पत्तिका सुरक्षा देखि सामूहिक लगानी र सामूहिक सुरक्षा कोष लगायतका विषयमा काम गर्नु पर्ने बेला आएको आचार्यले बताउनु भयो ।

संसारभरका नेपालीहरुलाई नेपालसँग जोड्नु पर्ने बेला आएको बताउँदै भन्नु भयो, ‘नेपाल हामी जन्मिएको ठाउँलाई कसरी राम्रो बनाउने भन्दा पनि अहिले संस्था कसरी कब्जा गर्ने तथा कतै कतै संस्थालाई व्यक्तिगत फाइदाका लागि प्रयोग त भइरहेको छैन भन्ने विषयमा सोँच्ने बेला आएको छ ।’

‘अहिलेको समस्या समाधान गर्नका लागि कहिले संरक्षक परिषद्लाई, कहिले क्षेत्रलाई दिने भनिन्छ, कहिले दुई जनाको कमिटी कहिले चार जनाको कमिटी भनिन्छ । तर समस्या बल्झाउने मात्रै काम भएको छ’, आचार्यले थप्दै भन्नु भयो । उहाँले आत्मआलोचना गरेर संस्थाको हितका लागि अगाडि बढन सबैलाई आह्वान समेत गर्नु भयो ।


प्रकाशित | ८ कार्तिक २०७८, सोमबार ०९:१२