काठमाडौं: संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन आज (सोमबार) केहि बरमा बदेखि शुरु हुँदै छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे बस्दैछ ।
सोमबार दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएकामा उनको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी बैठकमा २०४८ सालमा काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्रमणिशर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै २०४८ र २०५६ सालमा काङ्ग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता रामकृष्ण ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने सचिवालयले जनाएको छ ।
प्रकाशित | १६ बैशाख २०७६, सोमबार १५:४३