नेपालमा एकै दिन थपिए १ हजार १६ जना कोरोना संक्रमित, सात जनाको निधन

काठमाडौं – नेपालमा एकै दिन १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १३ हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो हालसम्मकै सबैभन्दा धेरै हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको छ।

त्यस्तै, काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जना गरी उपत्यकामा कुल २०५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न स्थानका अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो।

काभ्रे, बाँके, मोरङ, धनुषा, कास्की, नवलपरासी तथा तनहुँमा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यो सहित नेपालमा ११४ कोरोना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार १७:२३