भागबन्डाको हल्ला चलाउनु आधारहीन र कपोलकल्पित : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले आफुले एनआरएनएभित्र भागबन्डाको प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको छ । अध्यक्षका अर्का उम्मेदवार डा. बद्री केसीले आफूलाई एक जना अग्रजमार्फत कुल आचार्यले आलोपालो अध्यक्षको प्रस्ताव राखेको बताएपछि आचार्यले आफूले भागबन्डाको लागि कुनै प्रस्ताव नगरेको भन्दै खण्डन गर्नु भएको हो ।

आचार्यले भागबन्डाको प्रस्ताव गर्यो भन्नु आधारहीन र कपोलकल्पित कुरा मात्र भएको उहाँले बताउनु भयो । ‘पटक पटक चुनावको मिति घोषणा गर्ने तर चुनाव गर्न नसकिने देखे पछि ममाथि त्यस्तो आरोप लगाइएको हो’, आचार्यले भन्नु भयो । आचार्यले आफूले कुनै पदको लागि कसैलाई प्रस्ताव नगरेको भन्दै भ्रममा नपर्न आग्रह गर्नु भयो ।

‘अन्तिम समाधान भनेको विधि सम्मत ढंगले डेलिगेट्स समस्या समाधान गरी निर्वाचन गर्नु नै अन्तिम निकास हो’, आचार्यले थप्दै भन्नु भयो । आचार्यले नव निर्वाचित एनसीसीहरुले माग गरे जस्तै डेलिगेट्स विवाद सुल्झाएर, एमआइएस प्रणालीलाई भरपर्दो बनाएर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनु भयो ।

एनआरएनएको विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन हुनु सकारात्मक भएको बताउँदै यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्नेमा पनि जोड दिनु भयो ।


प्रकाशित | ३ पुष २०७८, शनिबार २०:४०