एनआरएनए क्यानडामा नयाँ सदस्यताका लागि समयावधि थप, जुन १० सम्म लिन सकिने

क्यानडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले आगामी जुन १० तारिखसम्म पञ्जीकृत सदस्यता बन्न सकिने गरि समयसीमा तोकेको छ । एनआरएनए क्यानडाले मेम्बरसिप प्रकिया अलि झन्झटिलो भएको, समय अलि बढी लाग्ने र अपडेटको कारणले कोडहरु आउन ढिलो हुने भएकाले जुन १० तारिखसम्म लम्ब्याएको हो ।

सदस्यता संख्या ४००० भन्दा माथि पुर्याउने लक्ष्य अनुसार गैर आवासीय नेपाली संघ क्यानडाको १६ औं बैठकले आगामी जुन १० तारिख सम्म साधारण सदस्यता लिनको लागि समय सीमा बढाएको अध्यक्ष चिरञ्जीवी घिमिरेले जानकारी गराउनु भयो ।

एनआरएनए क्यानडाको चुनाब आगामी जुलाई ११ र महाधिबेशन जुलाई २४ गर्ने तय भएको छ । अध्यक्ष घिमिरेले निर्वाचनको अन्तिम निर्णय भने निर्वाचन कमिटिले दिने बताउनु भयो ।

अध्यक्ष घिमिरेका अनुसार निर्वाचनको लागि प्रमुख निर्बाचन आयुक्तमा डा. ज्ञानेन्द्र पोखरेललाई मनोनित गरिएको छ । साथै आउने कार्यकालबाट लागु हुने गरि लगातार २ पटक भन्दा बढि कुनै पनि पदमा बोर्ड अफ डिरेक्टर भएर आउन नपाउने पनि निर्णय भएको अध्यक्ष घिमिरेले जानकारी गराउनु भयो ।

त्यस्तै, एनआरएनए क्यानडाले सदस्यता लिने क्रममा ब्यक्तिगत विवरणहरु गैर आवासीय नेपाली संघको डाटाबेसमा व्यक्तिगत गोप्यताको अधिकार सम्बन्धि क़ानून अनुसार सुरक्षित राखिने जनाएको छ ।

ब्यक्तिगत सूचनाहरु कहीं कतै र कसैलाई पनि प्रदान नगरिने र केन्द्रले सम्पुर्ण ब्यक्तिगत विवरणहरु सुरक्षित राख्ने जनाएको छ । अब देखि आफनो अकाउण्टमा लग ईन गरेर सुचनाहरु, कागजपत्रहरु बदल्न पनि सक्ने प्रावधानको साथै अर्को पटक रजिस्टर गर्दा सोहि अकाउण्ट बाट रिन्यु समेत गर्न सकिने प्राबधान बनेको संघले जानकारी गराएको छ । साथै भेरिफिकेसन पछि डिजिटल एनआरएनए आईडि आफै प्रिन्ट गर्न सकिनेछ ।

साधारण सदस्यता रजिस्ट्रेसन कसले लिन पाउने र नपाउने विषय भने गैर आवासीय नेपाली संघ क्यानडाको बिधानमा स्पस्ट उल्लेख भएकोले सो ब्यबस्था भन्दा बाहिरबाट परेका आबेदनहरु भेरिफाई नगरिने पनि जनाइएको छ । जारी बिज्ञप्तिमा भनीएको छ, ‘यो भन्दा बाहेकबाट आउने निवदेदहरुलाई भेरिफाई नगरिने र सदस्य बन्नको लागी तिरेको रकम पनि फिर्ता गर्न बाध्य हुने छैन।’


प्रकाशित | १९ जेष्ठ २०७८, बुधबार २२:३४