आयोजक कतार विश्वकपबाट बाहिरियो

एजेन्सी – कतार विश्वकपको समूह चरणबाटै एक खेलअगावै बाहिरिएको छ । कतार शुक्रबार सेनेगलसँग ३–१ ले पराजित भएको थियो ।

नेदरल्यान्ड्स र इक्वेडरबीचको अर्को खेल १–१ को बराबरीमा रोकिएपछि आयोजक कतार समूह चरणको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको हो ।

कतारले लगातार दोस्रो हार भोग्यो । पहिलो खेलमा टोलीलाई इक्वेडरले २–० ले पराजित गरेको थियो । विश्वकपको आयोजक राष्ट्र पहिलो चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजना गरे पनि टोली दोस्रो चरणमा पुग्न सकेको थिएन ।

इक्वेडरसँग बराबरीमा रोकिएपछि नेदरल्यान्ड्सले कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने मौका गुमाएको थियो । नेदरल्यान्ड्सले यो खेल जितेको भए लगातार दोस्रो खेल जित्दै अन्तिम १६ मा पुग्ने थियो ।

कोडी गाक्पोले लगातार दोस्रो खेलमा गोल गरेपछि नेदरल्यान्ड्सले सुरुमै अग्रता लिएको थियो । तर दोस्रो हाफमा इनर भ्यालेन्सियाको गोलमा इक्वेडरले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो । यस विश्वकपमा भ्यालेन्सियाको तेस्रो गोल हो ।


प्रकाशित | १० मंसिर २०७९, शनिबार १३:२१