एनआरएनएमा सर्वसम्मत गर्ने हो भने स्वतन्त्र ब्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ : दिल गुरुङ

दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी

गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री केसीलाई नेतृत्वमा ल्याएर विवाद समाधान गर्न सकिन्न । किनकी उनीहरु सबै एकपक्षीय रुपमा आ-आफनो प्यानल वा गुटमा लागिसकेका छन् । अहिलेको अवस्थामा तीनै जनालाई फालेर बाहिरबाट ल्याउन सके मात्र समाधान हुन सक्छ । अब हामीले ६ महिना, एक वर्ष वा एक कार्यकालको लागि स्वतन्त्र ब्यक्ति ल्याउनुपर्छ । यदी त्यस्तो गर्न नसकिए तत्काल विशेष अधिवेशन बोलाएर विधान संशोधन गरेर मात्र अधिवेशनमा जानुपर्छ ।

हाम्रो विधान परिपक्क भएको छैन । हरेक वर्ष विधान संशोधन गर्ने, आफू अनुकुल ल्याउने, अनुकुल नभएकालाई फाल्ने कार्य भइरहेको छ । अब यसलाई हटाएर सबैलाई सुहाउने खालको विधान हुनुपर्छ । अहिले एनआरएनएको इतिहास मेट्ने कार्य भइरहेको छ । संस्थाको दूरुप्रयोग भइरहेको छ । एनआरएनएमा गएर सत्ता कब्जा गर्ने जस्तो कार्य भइरहेको छ, त्यो गलत छ । त्यसलाई रोक्न जरुरी छ ।

हामीले एनआरएनएको इतिहासमा पहिलो पटक ६५, २५ र १० प्रतिशत प्रतिनिधि छनौट गर्ने विधान बनायौ तर असफल भयौ। हामीले यस्तो खालको विधान संशोधन गर्नुपर्छ । विधान भनेको कसैले पनि मनोपोली गर्न नसक्ने हुनुपर्छ ताकी पारदर्शी रुपमा एनसिसीको चुनाव र डेलिगेट्स छनौट गर्न सजिलो होस । संस्थामा हाम्रो रगत पसिना बगेको छ । हाम्रो पसिना र मिहनेतलाई त्यत्तिकै खेर फाल्न दिनु हुँदैन । त्यसका लागि सबैलाई एकजुट भएर विवाद समाधानमा लाग्न र एनआरएनएलाई बचाउन पनि आग्रह गर्न चाहान्छु ।

 एनआरएन अभियन्ता दिल गुरुङसँग गरेको कुराकानीमा आधारित


प्रकाशित | २ पुष २०७८, शुक्रबार २२:४८