कागेश्वरी मनोहराको मूलपानीमा करिब ३० लाख अनुदानमा मिट मार्ट स्थापना, उपप्रमुख थापाद्धारा उद्घाटन

भक्तपुर: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ स्थित मूलपानीमा करिब ३० लाख अनुदानमा मिट मार्ट स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकाका उपप्रमुख शान्ता थापाले मिट मार्टको स्थापना गर्दै संघीय सरकारको सशर्त अनुदानतर्फ लागत साझेदारी कार्यक्रम अन्तर्गत मिट मार्ट स्थापना गरिएको बताउनुभयो ।

उपप्रमुख थापाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ, सफा, ताजा र निरोगी मासु उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले अनुदान कार्यक्रम आएको र सोही अनुसार सेवा दिन आग्रह गर्नुभयो ।

पशु सेवा शाखा प्रमुख राम बहादुर देउवाले हाइजिन कोल्ड स्टोर उत्कृष्ठ देखिएकाले संघबाट आएको कार्यक्रमलाई केन्द्रकै कार्याविधीमा टेकेर लागत साझेदारीको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मिट मार्ट मासु मापदण्ड पालना गरेर कार्यान्वयन गर्नु पर्ने भएकाले समय समयमा अनुगमन हुने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष प्रकास फुयाँलले सरकारले नगरपालिकामा स्वस्थ मासु पसल निर्माण गर्न अनुदान कार्यक्रम आएकाले उपभोक्ताको हितको लागि आगामी दिनमा पनि विगतको जस्तै राम्रो र अन्यत्र भन्दा सस्तो दरमा मासु उपलब्ध गराउन आग्रह गर्नुभयो ।

हाइजिन कोल्ड स्टोरमा स्थापना गरिएको मिट मार्टका लागि लागत साझेदारीमा गर्ने गरि संघीय सरकारको सशर्त अनुदानतर्फ २९ लाख ७० हजार परेको थियो ।

सञ्चालक रुद सञ्जेलका अनुसार मिट मार्ट स्थापना गर्न ५० प्रतिशत अनुदानसहित कूल लागत ५१ लाख ९९ हजार लागेको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, लेखा शाखा प्रमुख बालकृष्ण दाहाल, प्राविधिक शाखा प्रमुख नवीन पाण्डे र वडाका जनप्रतिनिधिहरु लगायत सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २६ असार २०८०, मंगलवार २०:३४