ज्ञानेन्द्र क्रिकेट कप्तानबाट बर्खास्त, सन्दीप लामिछाने बने नयाँ कप्तान

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल्ल सहित केही सिनियर खेलाडीको गुनासो थियो ।

सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्ल सहित खेलाडीमाथि कारबाही गरेको हो ।

बैठकले खेलाडी आचार संघीता उल्लंघनमा मल्ल सहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।

क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय गरेको छ ।


प्रकाशित | २९ मंसिर २०७८, बुधबार २०:१९