मुगु जिल्ला अस्पताललाई एनआरएनए अफ्रिकाको १० थान अक्सिजन सिलिन्डर सहयोग

मुगु । एनआरएनए अफ्रिकाले मुगुको जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दस थान अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ ।

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् । आजै नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा. कविर पौडेललाई उक्त १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गर्नु भयो ।

सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दुरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकी रहेका बेला अफ्रिकामा भएका नेपालीहरुले गरेको सहयोग साच्चै नै सर्हानीय भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन एनआरएनएलाई अनुरोध गर्नु भयो ।

एनआरएनए अफ्रिकाले खरिद गरि दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखी नेपालगन्ज सम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्ज देखि मुगु सम्म छायानाथ बचत तथा ऋण सहकारी सस्थाले आफ्नै खर्चमा ढुवानी गरि दिएका थिए ।

यस्तै अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै , स्थानीय संयोजन गरिदिनु हुने नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्ल , अछाम पत्रकार महासंघका सस्थापक सभापती वेदप्रकाश तिमिल्सैना र सहयोग जुटाइदिने एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापा , बोत्स्वाना अध्यक्ष पदम भण्डारी , कङ्गो अध्यक्ष अमृत क्षेत्री , मोजाम्बिक अध्यक्ष देवी पौडेल लगायत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिती र सदस्यहरुलाई एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार २१:५१