एनआरएनएको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइयो (फोटोफिचरसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघले विविध कार्यक्रमहरुको आयोजना गरि १८ औं गैर आवासीय नेपाली दिवस मनाएको छ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाइएको हो ।

विगतमा झै यस अवसरमा सोमबार स्वयंम्भू र पशुपतिमा पुजा-आजा कार्यक्रम गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, राम प्रताप थापा, पूर्व अध्यक्ष भवन भट्ट, सल्लाहकहरु चिरञ्जीवी ढकाल, रामेश्वर साह, टीवी कार्की, कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, रविना थापा, सचिव राजेन्द्र कुमार शर्मा, सहकोषाध्यक्ष लोक दाहाल, प्रवक्ता डिवी क्षेत्री लगायत पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले सचिवालयमा ‌ओलम्पियन खेलाडी तथा प्रशिक्षकहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरेको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई प्रमाण-पत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो । 

त्यस्तै, तेकान्दो तथा काता सम्बन्धी खेलहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा भौतिक तथा अनलाइनबाट सहभागीता जनाईएको थियो ।

कार्यक्रममा पनि संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

यसै अवसरमा सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । गैर आवासीय नेपाली दिवसको अवसरमा गैर आवासीय नेपाली संघद्वारा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा गैर आवासीय नेपालीहरुको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले स्वागत मन्तब्य दिनु भएको थियो ।

यसै गरी संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु लगायत पदाधिकारीहरु, पूर्व पदाधिकारीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीले गर्नु भएको थियो । अन्त्यमा सचिवालयमा गैर आवासीय नेपाली संघको झण्डोतोलन कार्यक्रमको आयोजना गरिएको थियो । 

त्यस्तै, मुक्तीनाथ मन्दिर परिसरमा पनि ‘एनआरएएनए डे’ मनाइएको छ । एनआरएन प्रोजेक्टको रुपमा उपाध्यक्ष सोनाम लामाले निर्माण गर्नु भएको बुद्ध मूर्ति परिसरमा स्थापना दिवस मनाइएको हो । उपाध्यक्ष लामाले मुक्तीनाथ परिसरमा करोडौ लगानीमा बुद्धको मूर्ति निर्माण गर्नु भएको हो ।

तस्विरमा एनआरएनए स्थापना दिवस


प्रकाशित | २५ आश्विन २०७८, सोमबार २१:०२