थप सात स्थानमा सुरुङमार्गको तयारी

काठमाडौं : नेपालको पहिलो सुरुङमार्ग निर्माणको सुरुवातसँगै मुलुकको विकास नयाँ युगमा प्रवेश गरेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले थप सात स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गलगत्तै टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा रहेको बताए । उनले भने, “अब सुरुङमार्ग निर्माणको युग सुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग निर्माण गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययन भइरहेको छ ।”

दुई इन्टरचेन्ज९फ्लाइओभर० ब्रिजसहित निर्माण हुने सुरुङमार्ग तथा एप्रोच सडक समयमै पूरा हुने प्रधानमन्त्रीको विश्वास छ । नेपाली निर्माण कम्पनीले काम गर्दा ढिलाइ भएजस्तो मित्रराष्ट्रका कम्पनीले गरेका काममा नहुने उनको विश्वास थियो । नेपाल भ्रमण वर्षअगावै नागढुंगा–कलंकी सडक बनाइसक्न पनि प्रधानमन्त्री ओलीले सरोकारवाला निकायसँग आग्रह गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशलाई सुरुङमा प्रवेश गराउनु ऐतिहासिक काम भएको उल्लेख गरे । उनले यसबाहेक कहाँ पहाड छेडेर छिटो सडक बनाउन सकिन्छ भन्ने विषयको अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार चित्लाङ, लामाबगर, खुर्कोटलगायत सात स्थानमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ ।

“अबको पूर्वाधार निर्माणमा सुरुङमार्गलाई प्राथमिकतामा राखिन्छ, साढे तीन वर्ष म्याद तोकिए पनि बढीमा तीन वर्षमा बनाइसक्ने भनेर निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ,” उनँले भने । काठमाडौं उपत्यकामा रोकिएका सडक आयोजना फागुन मसान्तअगावै सक्न सडक विभागलाई निर्देशन दिइएको उनले बताए । फागुनपछि नयाँ काठमाडौं हुने मन्त्री महासेठको प्रतिबद्धता छ । यस्तै, समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारवाहीको दायरमा ल्याउने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले खत्रीपौवाबाट नौबिसेसम्म एक लेन सडक थप गर्न लागिएको जानकारी गराए । सडक सुरुङ निर्माणमा यो आयोजना कोशेढुंगा सावित हुने उनको विश्वास थियो । तोकिएको म्यादमा उच्च गुणस्तरको सुरुङ बन्ने सचिव कार्कीको प्रतिबद्धता थियो । यस्तै, सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सुरुङ विधिसम्बन्धी प्रविधि नेपालमा भित्रने बताए । देशका प्रमुख शहरलाई सुरुङ मार्गले जोड्ने गरी अध्ययन भइरहेको उनले जानकारी दिए । यो समाचार आजको कारोबार दैनीकमा छ ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पहाडी मुलुकमा सहजरुपमा यातायात सञ्चालन गर्न सुरुङमार्ग सहयोगी हुने विश्वास व्यक्त गरे ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार ०९:५९