राष्ट्र बैङ्कले १० करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ : सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नका लागि सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री प्रक्रिया सुरु गरेको हो । यसअघि जारी गरेर मिति समाप्त भएको ट्रेजरी बिलको नवीकरण गर्न लागेको राष्ट्र बैङ्कको ९१ दिन अवधिको उक्त ट्रेजरी कात्तिक ११ गते परिपक्व हुने जनाएको छ ।

बोलकबोलमार्फत बिक्री गरिएको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने व्यवस्था केन्द्रीय बैङ्कले गरेको थियो । साउन १३ गते मङ्गलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा नागरिकसमेत सहभागी हुन सक्ने छन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिने राष्ट्र बैङ्कले जानकारी गराएको छ । एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋण पत्र ट्रेजरी बिल सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन बिक्री गरिन्छ ।
राष्ट्र बैङ्कले यसअघि साउन ५ गते पनि पाँच अर्ब २० करोड रुपियाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ को एघार महिनामा रिपोमार्फत रु. ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत रु. १०३ अर्ब २८ करोड गरी कुल रु. २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु. १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत रु. १४६ अर्ब २८ करोड गरी कुल रु. २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ को एघार महिनामा खुला बजार कारोबारमार्फत कुल रु. ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क)बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु. ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९२ करोड खुद खरिद गरी रु. ३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु. ४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु. ४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।  आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १३ श्रावण २०७७, मंगलवार ०७:४१