एनआरएनए निर्वाचनमा जनजातीबाट दर्जन बढीको उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा जनजातीबाट दर्जन भन्दा बढीको उम्मेदवारी घोषणा भएको छ । विभिन्न पदहरुमा जनजातीबाट दर्जनभन्दा बढीको उम्मेदवारी घोषणा भएको हो ।

हालसम्म केन्द्रदेखि क्षेत्रीयस्तरसम्म उम्मेदवारी घोषण गर्नेको संख्या दर्जन बढी रहेको देखिन्छ । केन्द्रीय उपाध्यक्षमा मात्र पाँच जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ भने सचिवमा पनि चार जना, महिला संयोजकमा एक, युवा संयोजकमा दुई जना, सहकोषाध्यक्षमा एक जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तै, क्षेत्रमा पनि विभिन्न पदमा जनजातीबाट उम्मेदवारी घोषणा भएका छन् । हालसम्म क्षेत्रीय उपसंयोजकमा चार र क्षेत्रीय युवा संयोजकमा दुई जनाको उम्मेदवारी घोषणा भएको छ ।

हालसम्म केन्द्रीय नेतृत्वमा जनजातीबाट कसैले पनि दावी गर्नु भएको छ । उपाध्यक्षमा हालसम्म खुला उपाध्यक्षमा आइसिसी सल्लाहकार एसी शेर्पा, त्रिलोक गुरुङ, कोषाध्यक्ष महेश श्रेष्ठ र यूके निवासी ग्लोवल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङले  उम्मेदवारी घोषणा गर्नु भएको छ ।

शेर्पा र गुरुङको संस्थामा ठूलो योगदान छ । शेर्पा अमेरिकास्थित सियाटलको लागि नेपाली महावाणिज्यदूत र सगरमाथा पुगेर एनआरएनको झण्डा फरफराउने पहिलो ब्यक्ती पनि हुनुहुन्छ । हङकङ निवासी गुरुङ र शेर्पा दुवैले एनआरएनए भवन र लाप्राक प्रोजेक्टमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

श्रेष्ठ भने हाल कोषाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले पनि संस्थामा आर्थिक पारदर्शीता कायम गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको छ भने गुरुङले गोरखा जिल्लामा महत्वपूर्ण योगदान गर्नु भएको छ ।

त्यस्तै, महिला उपाध्यक्षमा बेल्जियम निवासी पूर्व सचिव समेत रहनु भएकी जानकी गुरुङ, युवा उपाध्यक्षमा हाल युवा संयोजक रहनु भएको नेदरल्याण्ड्स निवासी हिमाल गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तैगरि, खुला सचिव पदमा जापान निवासी पूर्व एनसिसी अध्यक्ष समेत रहनु भएको अजीव (ओम) गुरुङ, कतार निवासी हाल मध्यपूर्व संयोजक रहनु भएको प्रवीण गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । महिला सचिव पदमा हङकङको निवर्तमान अध्यक्ष रहनु भएकी राधिका (टिका) गुरुङ र हाल महिला संयोजक रहनु भएको अष्टेलिया निवासी भोम लिम्बूले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

उता महिला संयोजकमा एसिया प्याशिफिकको पूर्व महिला संयोजक रहनु भएकी कोरिया निवासी जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । सहकोषाध्यक्ष पदमा एसिया प्याशिफिक क्षेत्रीय संयोजक रहनु भएको जापान निवासी रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), युवा संयोजकमा यूएई बस्दै आउनु भएको मध्यपूर्व क्षेत्रीय सहसंयोजक मनोज श्रेष्ठ (गोर्खाली) र आयरल्याण्डको निवर्तमान अध्यक्ष मिलन छन्त्यालले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तै, विभिन्न क्षेत्रबाट पनि विभिन्न पदमा उम्मेदवारी घोषणा भएका छन् । हालसम्म हङकङ निवासी दिलीप सिहं गुरुङ र मलेसिया बस्दै आउनु भएको विश्व राईले एसिया प्याशिफिक क्षेत्रबाट क्षेत्रीय सहसंयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

उता मध्यपूर्व क्षेत्रीय सहसंयोजकमा कुवेत बस्दै आउनु भएको अमृत राईले उम्मेदवारी घोषणा गर्नु भएको छ यूरोपबाट आयरल्याण्ड निवासी सागर लामाले पनि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तैगरि, यूरोप क्षेत्रीय युवा संयोजकमा पोर्चुगलबाट रोवोट लिम्बू र र किरण गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

संघका प्रमुख संरक्षक शेष घलेको पालामा जनजातीको वर्चस्व भएपनि त्यसपछि घट्दै गएको देखिन्छ । तर आगामी कार्यकालको लागि भने जनजातीको तर्फबाट उम्मेदवारको संख्या निकै बढी छ । त्यसमध्येमा गुरुङहरुको वर्चस्व धेरै छ भने शेर्पाको न्यून देखिन्छ ।


प्रकाशित | २१ आश्विन २०७८, बिहीबार २०:३६